असार १२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ताकुमारी चौधरीले माध्यमिक शिक्षा परिक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ । उहाँ आफ्नो छोरी बिनु चौधरीसँगै एसइई उत्तीर्ण हुनुभएको हो ।

उहाँले कूल प्राप्ताङ्कमा २.६५ स्तरिकृत अङ्क (जिपिए) प्राप्त गर्दै ‘बि’ ल्याउनुभएको हो । उहाँकी छोरी बिनुले भने २.८५ स्तरिकृत अङ्क (जिपिए) प्राप्त गर्दै ‘बि प्लस’ ल्याउनुभएको छ ।

छोरी बिनुले काठमाडौँको निजी विद्यालयबाट एसइई दिनुभएको थियो । सांसद चौधरीले गत चैतमा महेन्द्र माध्यमिक विद्यालय तुल्सीपुरबाट निजी खुलातर्फ एसइई दिनुभएको थियो ।

चौधरीले अङ्ग्रेजी, नेपाली र सामाजिकमा ‘बि’, गणित, विज्ञान, स्वास्थ्य जनसङ्ख्या तथा वातावरण र अर्थशास्त्रमा ‘सि प्लस’ र शिक्षामा ‘बि प्लस’ ल्याउनुभएको छ ।

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरस्थित कक्षा ८ सम्म डाँडागाउँ मावि अध्ययन गर्नुभएकी चौधरीले त्यसपछि एक वर्ष पढाइ छाडेर एकैपटक एसइईको परीक्षा दिनु भएको उहाँका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयो । सांसद चौधरीले पढाइलाई निरन्तरता राख्नेसमेत बताउनुभयो । ‘‘यही वर्ष कक्षा ११ मा भर्ना गरेर पढाइलाई निरन्तरता दिन्छु’’, उहाँले भन्नुभयो ।

चौधरी मुक्त कम्मलहरी हुँदै पहिलो संविधानसभामा तत्कालीन नेकपा (एमाले)बाट सभासद्मा प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले ‘कम्लहरीदेखि सभासद्’ सम्म नामक पुस्तकसमेत लेखिसक्नुभएको छ ।

June 27, 2019
काठमाडौँ - KTM, समाज
नेकपाका सचेतक चौधरीलाई छोरीसँगै सफलता
By साझासवाल
3 मिनेट पढाइ