जेठ ४, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६:४० बजे मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

भारतबाट बैशाख ३० गते आएका उनलाई बेलैमा उपचारका लागि अस्पताल नलगिएकाले मृत्यु भएको स्थानीयले बताएका थिए । लगातार दुई घन्टा वान्ता गरेपछि उनको बिहान मृत्यु भएको थियो । मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।

शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो मृत्यु पुष्टि भएको थियो । सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको बिहीबार मृत्यु भएको थियो ।

मन्त्रालयले शनिबार उनको मृत्यु कोरोना संक्रमणबाट भएको घोषणा गरेको थियो ।

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको मन्त्रालयको पुष्टि