भदौ ३, काठमाडौँ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा निधन भएको हो । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।

सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।

मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् : गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको निधन भएको छ ।

केही दिनअघि नै पनि मुखर्जीको निधन भएको खबर फैलिएको थियो । तर सो खबर गलत रहेको कुरा उनको छोराले नै ट्वीटमार्फत् बताएका थिए ।

हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ फेला परेका थिए ।

सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मुखर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो ।

उनको जन्म सन् १९३५, ११ डिसेम्बरमा पश्चिम बंगालको मिराती गाउँमा भएको थियो । कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा एमए गरेका उनी १९६३ मा कोलकोत्तामा विद्यानगर कलेजमा राजनीति शास्त्रको प्रध्यापक समेत भएका थिए ।

१९६९ देखि राजनीतिक यात्रा सुरु गरेका उनलाई इन्दिरा गान्धीले भारतीय काँग्रेसमा प्रवेश गराएकी थिइन् । उनी १९६९ समा राज्यसभामा निर्वाचित भएका थिए ।

त्यसपछि १९७५, १९८१, १९८३ र १९९९मा राज्यसभामा लगातार निर्वाचित भएका थिए । त्यसपछि उनी लगातार विदेश, वित्त, रक्षामन्त्री समेत भए ।

August 31, 2020
काठमाडौँ - KTM, समाज
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन
By साझासवाल
4 मिनेट पढाइ