असोज २३, राँची (रासस–एएनआई) । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उहाँलाई जमानत दिएको अदालतले जनाएको छ ।

बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ ।

तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनु पर्नेछ । श्री यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौंदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना हुनु भएको छ ।

लालु यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा हुनुहुन्छ । उहाँले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाउनु भएको छ ।

लालु यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ ।

October 9, 2020
काठमाडौँ - KTM, समाज
के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत
By साझासवाल
3 मिनेट पढाइ