वैशाख ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक अवस्थामा बाहेक विमान स्थल क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिंदै गएकाले विमान स्थलले स्वास्थ्य सतर्कताका मापदण्ड जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
विमानस्थल नागरिक उड्डयन कार्यालयले मंगलबार सूचना जारी गर्दै सतर्कताका मापदण्ड पालना गर्न अनुरोध गरेको हो । विमानस्थलका अनुसार विमानस्थल हाताभित्र विदाई कार्यक्रमलाई निरुत्साहित गरिएको छ ।
विमानस्थलमा आवत जावत गर्दा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न,शरीरको तापक्रमको मापन गराएर टर्मिनल भवन भित्र प्रवेश गर्न,सेनिटाइजरको प्रयोग गर्न,लाईनमा लाग्दा भिडभाड नगरी तोकिएको मार्किङ / सांकेतिक पाईला पछ्याउन हुन र अन्य स्थानमा रहँदा बस्दा समेत भौतिक दुरी कायम गर्न,अन्तर्राष्ट्रिय हवाई यात्रुहरुले https://ccmc.gov.np/atms/ र आन्तरिक हवाई यात्रुहरुले https://ccmc.gov.np/atms/ भरी सम्बन्धित वायूसेवालाई बुझाउन विमान स्थलले अनुरोध गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश तथा विदेशमा यात्रा गर्ने हवाई यात्रुहरु, विमानस्थल सुरक्षाकर्मी, वायुसेवाका कर्मचारीहरु, ना.उ. कार्यालयका कर्मचारीहरु तथा विमानस्थलको सेवामा खटिने विभिन्न सरकारी निकायका कर्मचारीहरु र अन्य संघ संस्थाका कर्मचारीहरुलाई कोरोनाको संक्रमणबाट बच्न सुरक्षा सतर्कताका मापदण्ड पालना गर्न विमानस्थल नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ ।
