Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता

By साझासवाल 9 मिनेट पढाइ

नारायण अधिकारी । साउन १४, चितवन (रासस)। नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्याउने लक्ष्य नजिक पुगेको हो । नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको बताउनुहुन्छ । सफलतासँगै चुनौती रहेको भन्दै उहाँले रणनीतिक योजनामार्फत संरक्षणमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी लक्ष्यको नजिक छौँ । यसै वर्ष बाघ गणना गर्छाैं ।” सन् २०१८ को पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ रहेको छ । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ रहेका छन् । महानिर्देशक खराल सन् २०१८ यता बाघको सङ्ख्या बढेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “पछिल्ला वर्षहरुमा बाघको गतिविधि हेर्दा सङ्ख्या बढेको अनुमान गर्न सकिन्छ ।”

बाघ संरक्षणमा विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ । बाघको बासस्थानको पहिचान र सम्भाव्यता अध्ययन गरिँदै छ । बाघ पाइने ठाउँमा बासस्थान सुधार गर्ने भन्दै उहाँले भन्नुभयो, “आहारा प्रजाति बढाउन आवश्यक घाँसे मैदान, पानी पोखरी र सिमसार क्षेत्र सुधार कार्यक्रम अगाडि बढाउँछौँ ।”

बाघसम्बन्धी अध्ययन, अनुसन्धान, अनुगमन र प्रविधिको विकासको उपयोग गरिने उहाँको भनाइ छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि घटना भइसकेपछि राहत वितरणलाई सरलीकरण गर्ने, घाइते बाघका लागि उद्धार केन्द्र व्यवस्थित गर्ने, पहाडी क्षेत्रमा समेत बाघ देखिएकाले ती क्षेत्रमा बासस्थानको विकास गर्ने खराल बताउनुहुन्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदर चिडियाखाना प्रमुखसमेत रहनु भएका बाघ विशेषज्ञ डा चिरञ्जीवी पोखरेल चोरीशिकार रोक्नुपर्ने, मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउनुपर्ने तथा बासस्थान संरक्षण गर्नुपर्नेमा जोड दिनुहुन्छ । रणनीतिकरूपमा बाघ संरक्षणमा लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाघ संरक्षणमा गरिएका प्रयासहरु अझै पर्याप्त छैनन् ।” बाघको महत्वका बारेमा जनचेतना फैलाएर आम समुदायलाई संरक्षणमा केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।

बाघले मानव आक्रमण गर्दैगर्दा रोगव्याधिलगायतका समस्याले कमजोर भएर आक्रमण गरेको हुनसक्ने भएकाले सूक्ष्म अध्ययन आवश्यक भएको पोखरेलको भनाइ छ । उहाँले भन्नुभयो, “बाघ कमजोर भएर मानवलाई आक्रमण गर्छ ।” बाघले मानवलाई कम क्षति गर्ने गरी संरक्षणका योजना बनाउनुपर्नेमा उहाँको जोड छ ।

नेपालमै सबैभन्दा बढी बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुहुन्छ । वनमा आश्रित हुन बाध्य समुदायलाई समयमै वैकल्पिक पेशामा लगाउन सकिएमा द्वन्द्व घट्ने उहाँको तर्क छ । सन् २०१४ मा यहाँको वरण्डाभार क्षेत्रमा भेटिएको बाघ सन् २०१८ को गणनामा नभेटिएकोमा हालै मात्र तस्करहरुसँग उक्त बाघको छाला र हड्डी फेला परेको उल्लेख गर्दै उहाँले भन्नुभयो “बाघको चोरीशिकार थाहा नहुने ढङ्गले भएको हुन सक्छ ।”

दुर्लभ एकसिङ्गे गैँडा र बाघको संरक्षणमा केन्द्रित यस निकुञ्जका प्रमुख बराल गैँडाको चोरीशिकार भएको थाहा हुने भए पनि बाघको कतिपय घटना थाहा नहुने बताउनुहुन्छ । तस्करले बाघ मारेर अवशेष नछोडी लान सक्ने भएकाले चोरीशिकारी नियन्त्रणमा फरक रणनीतिका साथ लाग्नुपर्ने उहाँको भनाइ छ । भित्रभित्रै चोरीशिकार हुँदा भारतमा बाघ मासिएको थाहा नभएको उदाहरण दिँदै उहाँले भन्नुभयो, “बाघको चोरीशिकारी नियन्त्रणका लागि सबै लाग्नुपर्छ ।”

सन् २०१० मा लागू गरिएको बाघ संरक्षण विशेष कार्यक्रम हाल नभएको भन्दै उहाँले विशेष योजना बनाएर संरक्षणमा जुट्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष कार्यक्रम लागू भएमा बजेट हुने र सोहीअनुसारको कार्यक्रम लागू गर्न सकिन्छ ।” हाल बाघ संरक्षणमा नारा भए पनि बजेट नभएको उहाँको गुनासो छ । बाघ प्रायः मानव बस्तीमा आउँदैन । आफ्नै आधार इलाका बनाएर बाघ बस्ने गर्दछ । पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पु¥याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको छ ।