१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाले भारतसँग नयाँ सम्झौता गर्नभन्दा सम्बन्ध सुधारमा बढी ध्यान दिनुपर्छः लोकराज बराल

१७ चैत्र २०७८, बिहीबार ०६:५३

चैत १७, काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । पाँचौ पटक देशको प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । स्थानीय निर्वाचनको मुखमा देउवाले गर्ने भारत भ्रमणको समयमा दुई देशबीच केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । यसै सन्दर्भमा न्युज कारखानाले भारतका लागि नेपाली पूर्वराजदूत प्रा.लोकराज बरालसँग संक्षिप्त कुराकानी गरेको छ । सोही संक्षिप्त कुराकानीको सम्पादीत अंशः 

प्रधानमन्त्री शेरबहादुर देउवा भोली (शुक्रबार) भारत भ्रमणमा जाँदै हुनुहुन्छ, के यो भारत भ्रमण गर्ने उपयुक्त बेला हो ? 

समय भनेको आफूले उपयुक्त बनाउने हो । आफूले उपयुक्त वातावरण बनाइयो भने फल पनि राम्रो प्राप्त हुन्छ । त्यसैले पहिला वातावरणलाई उपयुक्त बनाउनु पर्यो । वातावरणमा अलि चिसिएको छ भने सद्भावना बढाउनु पर्छ । एक–अर्काबीच अविश्वास छन् भने त्यसलाई हटाउन पर्छ । उपयुक्त वातावरण आफैले बनाउने हो । 

स्थानीय निर्वाचनको मुखमा प्रधानमन्त्री भारत भ्रमणमा जाँदा त्यसले आन्तरिक राजनीतिमा असर गर्दैन ? 

भ्रमणले निर्वाचनलाई कुनै असर गर्दैन । प्रधानमन्त्री खुसुक्क एक घण्टा भारत भ्रमण गएर आए पनि हुने सम्बन्ध छ दुई देशबीच । तीन दिने भ्रमणले केही हुँदैन । बरु यो भ्रमणलाई बढी सद्भावना कसरी बनाउने, आफ्ना कुरा कसरी राख्ने भन्नेमा केन्द्रित हुनुपर्छ । 

अहिले प्रधानमन्त्रीले गर्न लागेको यो कस्तो भ्रमण हो ? 

मैले त यो सद्भावना भ्रमण मात्र हो भन्ने बुझेको छु । यस्तो भ्रमणमा धेरै कुरा हुँदैन । भेटघाट हुँदा अलिअलि जमिरहेको सम्बन्धलाई तरल र चलायमान बनाउन सक्छ । 

यस्तो भ्रमणमा नयाँ अजेण्डामा छलफल हुन सक्दैन ? 

नेपाल र भारतबीच छलफल गर्न चाहे अजेण्डाहरु थुप्रै छन् । तीनलाई उठाएर कार्यन्वयन गर्न सके राम्रो हो । तर अहिले नै उठाउनु पर्ने नयाँ कुरा केही पनि छैन । नयाँ कुरा गर्न खोजे पनि अहिले सम्भव हुँदैन । 

यसपटकको भ्रमणमा प्रधानमन्त्री देउवाले उठाउनै पर्ने अजेण्डा के के हुन् ? 

अहिले नेपालको तर्फबाट प्रधानमन्त्रीले उठाउन पर्ने केही पनि छैन । भारतसँग सम्बन्ध चिसिएको छ भने त्यसलाई विश्वासमा परिणत गर्ने हो । भारतसँग सहकार्य गर्ने हो । शिक्षा, स्वास्थ्य, रोजगार, उर्जा जस्ता जनतामुखी कार्यक्रममा चासो बढाउनुपर्छ । बाटो बन्न सकेका छैनन् । हाम्रो कजमोरी र भारतले पनि चासो नदिदा हुलाकी राजमार्ग बन्न सकेको छैन । यस्तै कुरा उठाउने हो । महाकालीमा तीन–चारवटा पुल बनाउन पर्यो । ठूला कुराभन्दा साना साना कुरा महत्वपूर्ण हुन्छन् । ठूला कुरा गरेर, नारा लगाएर र राष्ट्रवाद जगाएर मात्र हुनेवाला केही छैन । 

तपाईंको आशय यसपटक महत्वपूर्ण सम्झौता हुदैनन् भन्ने हो ? 

महत्वपूर्ण सम्झौता यो भ्रमणमा होलान् जस्तो मलाई लाग्दैन । सामान्य कुरा जसले हामीलाई पिरिरहेका छन्, जस्तै– बाढीपहिरो, पुल निर्माण, बाटाघाटा बनाउने, डुबान समस्या, पूर्वाधार विकास, उर्जा यस्ता कुरामा ध्यान दिनुपर्छ र दिए पुग्छ ।  

अहिले सम्झौताभन्दा पनि सम्बन्धमा जोड दिनुपर्छ भन्न खोज्नु भएको हो ? 

हो, भारतसँग नयाँ सम्झौता गर्नभन्दा सम्बन्ध सुधारमा बढी ध्यान दिनुपर्छ । सम्बन्ध सुधार गरेर विकासका लागि सहकार्य बढाउन पर्यो । ठूला ठूला कुरा गरेर मात्र केही हुँदैन । जनतामुखी विकासको लागि भारतीय सहयोग हुनुपर्छ । अन्य देशको मामिलामा पनि यही लागू हुन्छ । विकासका कुरामा ध्यान दिनुपर्यो, टावर उद्घाटनमा व्यस्त भएर केही हुँदैन । भ्रमण गरेर मात्र पनि केही हुँदैन, विकासतीर ध्यान दिनुपर्छ । भारतसँग विगतमा धेरै सम्झौता भएका छन्, तर तीमध्ये थोरै मात्र कार्यान्वयनमा आएका छन् । नयाँ सम्झौता थप्नेभन्दा पनि गरेका पुराना सम्भौताको कार्यान्वयनमा जोड दिनुपर्छ । 

भारतसँग विगतमा भएका सम्झौता किन समयमै कार्यान्वयन हुन नसकेको होला ? 

सम्झौता मात्र गर्ने त्यसपछि दुवै देशले ध्यान नदिएपछि कसरी कार्यान्वयन हुन्छ । म आफै कति पटक यस्ता भ्रमणमा गएको छु, कुराहरु संयुक्त विज्ञप्तिमा पर्छ तर कार्यान्वयन हुँदैन । यसमा हाम्रो पनि कमजोरी छ, भारतले पनि चासो नदिएको हो । सम्झौता गरेपछि त्यसमा लागिरहनुपर्छ, तर हामी लाग्दैनौं । उग्र राष्ट्रवादा जगाउन पर्यो भने हामी प्रतिस्पर्धा गर्र्छौ तर सम्झौता कार्यान्वयनमा ध्यान दिदैनौं । कुरा बिगार्छौं अनि सम्वाद गर्ने भनेर दौडादौड गर्छौं । 

पछिल्लो समय सीमा विवाद र इपीजी प्रतिवेदनले नेपाल–भारत सम्बन्धमा चिसोपना बढाएको हो ? 

इपीजी प्रतिवेदन ठूलो कुरा होइन । भारतले कि त प्रबुद्ध व्यक्ति समूह (इपीजी) गठन गर्न स्वीकार गर्न हुन्थेन, गठन गरेपछि त्यसले बनाएको प्रतिवेदन स्वीकार्न पथ्र्यो । भारतले त्यसलाई यसो हातमा लिएर थन्काइदिए पनि हुने हो र तर तीन–चार वर्ष बित्दा पनि बुझ्दै बुझेन । त्यसैले इपीजीको कुरै सकियो । इपीजी प्रतिवेदन मृत भइसक्यो, अब यसलाई उठाइरहन जरुरी छैन ।  

भारतसँगको सीमा विवाद कसरी समाधान हुन्छ त ? 

सीमा विवाद सुल्झाउन त्यति सजिलो छैन । हामीले कुरा गरेर केही हुनेवाला छैन । शेरबहादुरजीले गरेर पनि हुँदैन । मोदीले गरेर पनि हुँदैन । यसको लागि प्रक्रिया सुरु गर्नुपर्छ । अहिले प्रक्रिया नै सुरु भएको छैन । यसबारे एउटा बैठक पनि भएको छैन । दुई देशका प्रधानमन्त्रीले गरेर मात्र हुँदैन । भारतका प्रधानमन्त्रीले पनि सुरक्षा निकायलाई सोध्नुपर्छ । हाम्रो प्रधानमन्त्रीले पनि नेपाली जनताको कुरा सुन्नुपर्छ । हामीले हतारमा नक्सा पास गरेका छौं । नक्सा अनुसार भूमी फिर्ता ल्याउन सकेन, केही गरेन भनेर हल्ला भइरहन्छ । यस्तो चलिरहन्छ । तर सीमा विवाद समाधानको लागि विस्तारै प्रक्रिया अघि बढाउनु पर्छ । यसलाई कर्मचारीको बीचमा लाने, तहगत रुपमा अघि बढाउन पर्छ । नेपाल–भारत सीमा विवाद दुई देशका प्रधानमन्त्रीले निर्णय गरेर मात्रै सुल्झदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता