वैशाख १४, काठमाडौं | सरकारले आगामी जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णयसँगै सरकारी कार्यालय साढे नौदेखि साढे पाँचसम्म खुला गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले मंगलबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। अब शनिबार र आइतबार दुई दिन सरकारी बिदा हुनेछ।

सरकारले जेठ १ देखि लागू हुने गरी दुई दिन बिदा दिने निर्णयसँगै सरकारी कार्यालय भने साताको पाँच दिन साढे नौदेखि साढे पाँचसम्म खुला गर्ने भएको छ।

‘सरकारले परीक्षणका रुपमा यो निर्णय कार्यान्वयन गर्न लागेको हो,’ मन्त्रिपरिषद् स्रोतले भन्यो।

यसअघि सातामा दुई दिन बिदा दिँदा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले पनि आइतबार बिदा थप्ने प्रस्ताव गरेको थियो।

यसअघि प्रशासन सुधार आयोगको प्रस्तावअनुसार २०५६ सालमा सातामा दुई दिन बिदा दिइए पनि केही समयमै बन्द भएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक समिति गठन गर्दै सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको थियो।

आगामी जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने, साढे नौदेखि साढे पाँचसम्म सरकारी कार्यालय खुला गर्ने
Leave a Comment