कात्तिक २६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताउनुभयो ।

“मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन्”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नदेखिएको टिप्पणी गर्नुभयो ।

वर्तमान गठबन्धन देशको विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको उहाँको आरोप थियो । एमाले नेतृत्वको सरकारले ४१ महिना ८२ वटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उहाँले देशको समृद्धि र विकासका लागि एमाले सरकार नै आवश्यक भएको बताउनुभयो ।

पछिल्लो समय देश अस्थिरतातर्फउन्मुख भइरहेको दाबी गर्दै अध्यक्ष ओलीले देश बनाउने योजना एमालेसँग मात्र भएको बताउनुभयो । उहाँले गठबन्धनसँग देशको विकास र समृद्धिका लागि कुनै नीति कार्यक्रम नभएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले गरिब, असहाय, सुकुम्बासी र मुक्तकमैयाका समस्या एमालेले मात्रै समाधान गर्नसक्ने दाबी गर्नुभयो ।

‘स्वाधीनताका पक्षमा लाग्ने पार्टीलाई जनताले जिताउँछन्’

लम्की– कैलालीको लम्कीमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमार्फत जनताले राष्ट्रियता, स्वाधीताका पक्षमा दृढतापूर्वक लाग्ने पार्टीलाई विजयी गराउने बताउनुभयो ।

एमालेलाई जिताउन कसैले रोक्न नसक्ने ठोकुवा गर्दै उहाँले ज्येष्ठ नागरिक, बालबालिका, युवा, अशक्त र अन्यायमा परेका नागरिकलाई एमालेले सम्झने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “देशमा ज्येष्ठ नागरिक छन् भनेर सम्झिने पार्टी एमाले हो, मासिक रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले मासिक रु चार हजार पुगेको छ, भत्ता बढ्नुमा एमालेको देन छ ।”

‘अतिक्रमित भूमि फिर्ता ल्याइन्छ’

डोटी– एमाले जिल्ला कमिटी डोटीले आज दिपायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको आरोप लगाउनुभयो ।

आगामी निर्वाचनपछि बन्ने एमाले सरकारले सुदूरपश्चिमका ठूला परियोजना अगाडि बढाउने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजना पश्चिम सेती, खुटिया–दिपायल द्रुत मार्ग, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिइनेछ, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि फिर्ता ल्याउछौँ ।”

मङ्सिर ४ पछि एमाले सरकार बन्ने अध्यक्ष ओलीको दाबी
Leave a Comment