चैत १८, काठमाडौं । मानव तस्करले लाखौँ रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् ।

नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौँ रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेश गर्ने नेपालीको संख्या बढेको छ। ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्टवाहकलाई 'अन अराइभल' भिसा खुला गरेपछि तस्करले त्यसको फाइदा लिएका हुन् ।

'मलाई काठमाडौंबाट दोहा (कतार), लण्डन (बेलायत), निकारागुवा, होण्डुरस, एल साल्भाडर, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका प्रवेश गराएका हुन्,' अमेरिका प्रवेश गर्नैका लागि ५५ लाख रुपैयाँ बुझाएका पर्वतका राम शर्मा (नाम परिवर्तन) ले अमेरिकाबाट भाइबरमा भने, 'यहाँ (अमेरिका) आइपुग्दासम्मको दु:ख सम्झिँदा त किन आइएछ जस्तो लाग्छ ।'

शर्मा नेपालबाट हिँडेको साढे दुई महिनापछि मेक्सिकोको सीमाबाट अमेरिका छिरेका हुन् । अघिल्लो साता अमेरिका पुगेका शर्माले तस्करले अमेरिका छिराइदिएबापट एक नेपालीसँग ५० देखि ६५ लाख रुपैयाँसम्म उठाउने गरेको जानकारी दिए। यसरी जाने नेपाली ल्याटिन अमेरिकी राष्ट्रमा थुप्रै रहेको उनको भनाइ छ ।

'जति छिटो पैसा तस्करलाई बुझायो त्यति नै छिटो उनीहरुले अमेरिकातर्फ अघि बढाउँदा रहेछन् । ल्याटिन अमेरिका पुगेपछि तस्करलाई पैसा तिर्न नसकेर बिचल्लीमा परेका नेपाली थुप्रै छन्,' शर्माले भने । निकारागुवादेखि मेक्सिकोसम्म डेढ सयजति नेपाली रहेको उनको अनुमान छ । -नागरिक दैनिक

March 31, 2017
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
नेपालीलाई अमेरिका पुर्याउन तस्करको नयाँ रुट
By kit
4 मिनेट पढाइ