चैत ६, काठमाडौँ | नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई बहादुरी ठानेपछि आफूहरुले राजनीतिक समीकरण फेरेको बताएका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डलाई पुस १० गते भएको सहमति किन तोडेको भनेर प्रश्न गरेपछि उनले त्यसको जवाफ दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेकपा एमालेसँग मेरो एउटा अनुरोध छ । यो सदनको पहिलो पार्टी नेपाली कांग्रेस हो भन्ने कुरा तपाईंहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ । दोस्रो दललाई सहमति चाहियो, पहिलो दललाई समेत सहमति गरेर अघि बढौं भन्ने कुरा गलत थियो ? इतिहासको कठघरामा उभिएर जवाफ दिन तयार छौं । सहमति देशका चुनौतीलाई समाधान गर्न खोजिन्छ । विगतको कुरालाई पुनरावृत्ति गरेर सहमति थिएन, छैन र हुँदैन ।’

इतिहासको सम्मान गर्दै गल्ती सच्याएर अघि बढ्नुपर्ने उनले बताए । ‘दुईदुई पटक संसद विघटन गर्न पाइने कुरा संविधानको कुन धाराअनुसार गरियो ?’, उनले प्रश्न गरे ।

सर्वोच्च अदालतबाट करेक्सन गरेको विषयलाई बहादुरी ठान्दा आफूहरुले समीकरण फेरेको उनले बताए ।

विष्णु पौडेललाई देवेन्द्रको जवाफ- संसद विघटनलाई बहादुरी ठानेपछि समीकरण फेर्यौं