साउन १०, काठमाडौं | प्रतिनिधि सभाको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सुन प्रकरणमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७१ बमोजिम सो प्रस्ताव दर्ता गराइएको हो।

केही दिनअघि झन्डै क्विन्टल सुन बरामद भएपछि त्यसले चर्चा पाइरहेको छ। साथै, विमानस्थलको सुरक्षा प्रणालीबाट सुन बाहिरिएकोमा आशंका पनि व्यक्त भइरहेका छन्। सोही कारण रास्वपाले प्रस्ताव दर्ता गराएको हो।

प्रस्ताव दर्ता गराउन उसले ७ वटा कारण पनि प्रस्तुत गरेको छः

– यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गयो? सोसम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्न।

– सरकारले अब सुनको अवैध आयात तथा तस्करीको संगठित अपराध नियमन गर्न के-कस्तो पहल लिएको छ? यदि पहल गरेको भए उक्त पहलमा के-कति प्रगति भएको छ? सोको बारे सरकारसँग जानकारी माग गर्न।

– भन्सारभित्रबाट नै भएका तस्करीको भविष्यमा कडा रोकथामका सम्बन्धमा सरकारले के कस्तो कार्ययोजना पहल गरेको छ? सोबारे सरकारसँग जानकारी माग गर्न।

– सरकारले बरामद भएका सुनको प्रयोग के कसरी गर्ने सोचेको छ? त्यसको स्पष्ट खाका सरकारबाट माग गर्न।

– नेपाल राष्ट्र बैंकबाट जारी परिपत्रहरू अनुसार कडा रूपमा सुनको आयात नियमन गराउन सरकारले गरेको प्रयासबारे जानकारी माग गर्न।

– नेपालमा अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको यो पहिलोपटक होइन। सरकारले गरेका विगतका सुन तस्करीको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न र तत्पश्चात अपनाएको नियन्त्रण उपायहरुको विश्लेषणात्मक प्रतिवेदनसमेत माग गर्न।

– सुन तस्करीमा नेपाललाई नै किन हब / ट्रान्जिटको रूपमा सङ्गठित अपराधीहरूले सजिलै प्रयोग गरिरहेका छन् भन्ने विषयमा अपराधशास्त्रको विन्दुबाट सरकारद्वारा अध्ययन र अनुसन्धान माग गर्न।