Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्,

By साझासवाल

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि आमन्त्रण गर्दा नआएपछि त्यसलाई ‘आमन्त्रणको अवज्ञा’ को रूपमा प्रतिक्रिया जनाएको छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा आठ दिनदेखि काठमाडौँमा आन्दोलन जारी छ। यसबीचमा शिक्षा मन्त्रालयले दुईपल्ट वार्ता आमन्त्रण गरेको छ। मन्त्रालयले बिहीबार (२१ चैत) र मंगलबार (२६ चैत) मा गरी दुईपल्ट वार्ताको आमन्त्रण गरेको थियो।दुईपटक नै शिक्षक कर्मचारीका प्रतिनिधिहरू वार्तामा नगएपछि मन्त्रालयले आमन्त्रणको अवज्ञाको रुपमा बुझेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले हिमालप्रेससँग भने। प्रवक्ता सापकोटाले भने, ‘सहनबाहेक अर्को विकल्प छैन। सरकार एक्सनमा जाने कुरा भएन। वार्ता आमन्त्रणको अवज्ञा भयो भन्ने बुझेका छौं।’

महासंघले हरेक समस्या वार्ता वा संवादबाटै समाधान हुन्छन् भन्नेमा महासंघको दृढ विश्वास रहेको जनाएको छ। आन्दोलनको लक्ष्य विभिन्न मुद्दा र विषयमा छलफल गरी नयाँ सहमति गर्नु नभई विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने रहेको महासंघद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले तत्काल वार्ताको कुनै औचित्य नभएको बताउँदै आफूहरूसँग बस्ने समय पनि ऐन निर्माणमै खर्चिन सरकारलाई आग्रह गरेका छन्।