भारतमा राहुल गान्धीसहित ३० सांसद पक्राउ परे

साझासवाल
1 Min Read

काठमाडौँ | निर्वाचन आयोगले मतदाता नामावलीमा धाँधली गरेको भन्दै भारतको राजधानी नयाँदिल्लीमा विरोध प्रदर्शनमा उत्रेका विपक्षी दलका सांसदहरू पक्राउ परेका छन् । कांग्रेस नेता राहुल गान्धीसहित ३० जनाभन्दा धेरै सांसदहरू पक्राउ परेका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको कार्यालयअघि प्रदर्शन गर्न पुगेका सांसदहरूलाई प्रहरीले धरपकड गरेको हो । विपक्षी सांसदहरूले ‘मत चोरी’को आरोप लगाएका छन् । निर्वाचन आयोगले सत्तारुढ भाजपासँग मिलेर परिणाम तोडमोड गरेको उनीहरूको आरोप छ ।

पक्राउ परेपछि राहुल गान्धीले पत्रकारसँग भने, ‘यो लडाइँ राजनीतिक होइन, संविधान बचाउन हो । सत्य देशका सबै नागरिकका अगाडि छ ।’

विरोध कार्यक्रममा राहुल गान्धीसँगै प्रियंका गान्धी, डिम्पल यादव, महुवा माजी, सञ्जय राउत, रणदीप सुरजेवाला र केसी वेणुगोपाललगायतका विपक्षी सांसदहरू सहभागि थिए । दिल्ली प्रहरीले सांसदहरूको संख्या बढी भएकै कारण पक्राउ गरिएको बताएको छ ।

नयाँ दिल्लीका डीसिपी देवेश कुमारका अनुसार निर्वाचन आयोगले करिब ३० जना सांसदलाई भेट्ने अनुमति दिएको भए पनि सो भन्दा धेरै आएपछि पक्राउ गरिएको हो ।