चैत्र २२, काठमाडौं | सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि समिति गठन गरेको छ । निर्वाचनमा वडा तथा टोल तहसम्म प्रचारप्रसार गर्न समिति गठन गरिएको हो ।

स्थानीय तह निर्वाचन नजिकिएसँगै बसेको केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले कांग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले प्रचारप्रसार समितिअन्तर्गत पत्रकारहरूको संयोजकत्वमा विभिन्न पाँच समितिको गठन गरेको छ ।

कांग्रेसले प्रचार प्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाइन मिडिया समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेललाई मनोनित गरेको छ ।

त्यसैगरी, टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झालाई मनोनित गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।

कांग्रेसले गठन गर्यो टोलसम्म प्रचारप्रसारका लागि समिति