जेठ ७, काठमाडाैं | प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते, विजय सुवेदी र कृष्ण थापा । यी तीनै जना नेता नेकपा एमालेका हुन् ।

कागते इलामको सूर्योदय नगरपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धामा उत्रिए । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहपालिका पनि यही हो । कागते खनालकै पार्टीका नेता रणबहादुर राईबाट पराजित भए ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार राईले १२ हजार ४३१ मत र पराजित भएका कागतेले १० हजार ५७९ मत प्राप्त गरे । राईको जितले सांसद पदबाट राजीनामा दिएर सूर्योदय नगरपालिकाको नेतृत्व गर्ने कागतेको चाहना अधुरै रह्याे।

अर्का सांसद् विजय सुवेदीको पनि भरतपुर महानरपालिकामा हारको सम्भावना बढ्दै गएको छ । शनिबार बिहान ११ बजेको मतपरिणामलाई आधार मान्दा उनका प्रतिस्पर्धी रेणु दाहाल ५ हजार ५१८ मतले अघि छन् । रेणुले २८ हजार ६०८ मत र सुवेदीले २३ हजार ९० मत प्राप्त गरेका छन् ।

आधाभन्दा बढी वडाको मतगणना सकिएको छ । एमालेको ‘कोर एरिया’भनिएको वडाबाट पनि सुवेदीलाई राम्रो मत आएन र प्रतिस्पर्धी रेणुले मतान्तर बढाउँदै लगेकी हुन् । एमालेबाटै सुवेदीलाई घात भएको र जित निकाल्न मुस्किल पर्ने चर्चा पनि चल्न थालेको छ ।

पोखरा महानगरपालिकाको प्रमुख पदका प्रतिस्पर्धी रहेका कृष्ण थापा पनि जति मतगणना सकिन्छ, त्यति पछि पर्दै गएका छन् ।

उनलाई पछि पार्ने प्रतिस्पर्धी हुन्, धनराज आचार्य । सत्ता गठबन्धनका उम्मेदवार आचार्यले ३२ हजार ४८० मत पाएका छन् । थापाले भने २९ हजार ४१ मत पाएका छन् । उनीहरूको मतान्तर ३ हजार ४३९ छ ।

गण्डकी प्रदेश सांसदबाट राजीनामा दिएका थापालाई पोखरा महानगरको प्रमुख हुन कठिन बन्दै गएको छ ।

May 21, 2022
काठमाडौँ - KTM, राजनीति
सांसदबाट राजीनामा दिएका एक जनाको हार, दुई जना कठिन सङ्घर्षमा
By साझासवाल
4 मिनेट पढाइ