पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १५, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको बताएकी छन् ।

१५औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताएकी हुन् ।

उनले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

स्थानीय तहको निर्वाचनले गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको उनले बताएकी छन् ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आइएको छ ।

संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको थियो ।