जेठ २४, काठमाडौँ | नेकपा एमालेका सांसद भीम रावलले सरकारले सवारीसाधनमा जबरजस्ती एम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप लगाएका छन् । संसारका विभिन्न देशले कालो सूची राखेको कम्पनीलाई एम्बोस्ड नम्बर राख्न ठेक्का दिनु अर्को शंकास्पद रहेको उनले बताए ।

संसदमा आज भएको विनियोजन विद्येयकमाथिको छलफलका क्रममा उनले एम्बोस्ड नम्बर प्लेटले नेपालको संविधानमा भएको व्यवस्थाको पनि उल्लंघन गरेको बताए । नम्बर प्लेटमा देवनागरी अंक र अक्षर नराखी अंग्रेजी अक्षर राख्ने गरेको र निकै कम्जोर समेत रहेको उनको भनाइ छ । पछिल्लो एक वर्षमा चार हजार सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट राखेकोमा १५ सय फुटेको उनले बताए ।

यस्तै, उनले यस वर्षको बजेट विनियोजन एकदमै अव्यवहारिक र एकपक्षीय रहेको बताए । नेता तथा पहुचवलाहरुको क्षेत्रमा सडक निर्माण, सुरुङ निर्माण एकै ठाउँमा थुपारिएकाे तर अन्य क्षेत्रमा बजेट नै भएको बताए ।

सोही अवसरमा उनले बाराको निजगढमा निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको बताए । यदि यहाँ सरकारले विमानस्थल नबनाउने हो भने यसअघि ३० वर्षदेखि गरिदै आएको लगानी खेर जाने उनले बताए ।