पुस ५, काठमाडौँ | नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।

सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

गगन थापाको उम्मेदवारी दर्ताको तयारी गर्न कोइराला र थापा होटेल बसेरामा पुनः बस्ने नेताहरुले बताएका छन् । त्यसअघि आज बिहान साढे ८ बजेदेखि लाजिम्पाटस्थित होटल एम्बास्डरमा कोइराला र थापासहितका नेताहरुले छलफल गरेका थिए । छलफलमा नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी थिए ।

सोही होटलको एउटा छुट्टै कोठामा थापा, कोइराला, सञ्जय गौतम, रामनाथ अधिकारी लगायतले पनि छलफल गरेका थिए ।

थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको थिएन ।

संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।

December 20, 2022
काठमाडौँ - KTM, राजनीति
कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने
By साझासवाल
4 मिनेट पढाइ