पुस ८, काठमाडौँ | पहिलो चरणमा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तीव्र विवाद चुलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पहिलो चरणमा प्रधानमन्त्री नछाडने अडान लिएपछि उनलाई मनाउन कांग्रेस नेताहरु लागिपरेका छन् ।

शुक्रबार बिहानै प्रचण्डलाई भेट्न कांग्रेस नेता प्रकाशमान सिंह खुमलटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्षमा प्रचण्डसँग छलफल गर्न सिंहलाई खुमटार पठाएका हुन् ।

देउवा समेत विभिन्न दूतमार्फत् प्रचण्डलाई मनाउन खोजिरहेका छन् भने प्रचण्ड समेत कुनै पनि हालतमा देउवालाई गलाउन लागिपरेका छन् । सिंहले प्रचण्डलाई पहिलो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए ।

प्रचण्डले यही गठबन्धनबाट आफू प्रधानमन्त्री हुन चाहेको, त्यसो नभए एमालेसँग समेत छलफल भइरहेको जवाफ सिंहलाई दिएको स्रोतले बताएको छ ।

कांग्रेस नेता सिंहले प्रचण्डसँग पार्टी सभापति देउवालाई प्रधानमन्त्री बनाएर अन्य पद बाँडफाड गरौंला भनेका थिए । तर, प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति आफ्नो पक्षमा रहेको भन्दै पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने अडान राखेका छन्।

प्रचण्डको जवाफ उदृत गर्दै स्रोतले भन्यो,‘एमालेसँग समेत हाम्रो छलफल भइरहेको तपाईंहरुलाई राम्रोसँग थाहा होला । देउवाजी अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ । अहिले म बन्छु दुई वर्षपछि फेरि देउवाजी । ’

प्रचण्डले यही गठबन्धनबाट आफू प्रधानमन्त्री हुन चाहेको, त्यसो नभए एमालेसँग समेत छलफल भइरहेको जवाफ सिंहलाई दिएको स्रोतले बताएको छ । खुमलटार स्रोतका अनुसार, प्रचण्डले पहिलो चरणमा वर्तमान सत्ता गठबन्धनबाट आफू प्रधानमन्त्री नबने गठबन्धनमा संकट आउन सक्ने तर्फ समेत कांग्रस नेता सिंहलाई स्पष्ट संकेत गरेको स्रोतले बताएको छ ।

बिहीबार बेलुकी प्रधानमन्त्री देउवा,प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा सहमतिको प्रयास भएको थियो ।

प्रचण्ड र प्रकाशमानबीच भेट, प्रधानमन्त्री नपाए गठबन्धन छाडने प्रचण्डको धम्की