पुष १४, काठमाडौँ | विश्वकप विजेता अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले आफूलाई ट्रोल बनाएको विषयमा केलियन एमबाप्पेले त्यसलाई निजी विषयका रुपमा उल्लेख गरेका छन् ।

‘सेलिब्रेसन मेरो समस्या होइन । त्यस्ता अर्थहीन विषयमा शक्ति खर्च नगरौं । मेरो लागि महत्वको विषय भनेको मेरो क्लबका लागि सकेसम्म राम्रो गर्नु हो’, बुधबार राति लिग वानमा स्ट्रासबर्गलाई हराएपछि २३ वर्षीय एमबाप्पेले भने ।

यसअघि विश्वकप जितेर घर फर्किएपछि आयोजित विजयी र्यालीमा मार्टिनेजले एमबाप्पेलाई ट्रोल बनाएका थिए । त्यसअघि अवार्ड थापेपछि पनि उनले अश्लील पोज दिएका थिए । फाइनलमा एमबाप्पे प्रेरित फ्रान्सलाई हराएर अर्जेन्टिना विश्व विजेता बनेको थियो ।

टाइब्रेकरमा पुगेको खेलमा मार्टिनेज निर्णायक बनेका थिए । उक्त खेलमा एमबाप्पेले ह्याट्रिक गरेका थिए भने उनकै क्लब सहकर्मी लियोनल मेस्सीबाट पनि दुई गोल भएको थियो । विश्वकपमा गोल्डेन बुट जितेका एमबाप्पेले मेस्सीलाई क्लबमा पर्खिरहेको बताएका छन् ।

‘गोल गर्न र खेल जित्न हामी उनलाई पर्खिरहेका छौं । खेलपछि उनीसँग मेरो कुराकानी भएको थियो र मैले बधाई दिएको थिएँ । जीवनभर उनले खोजेको कुरा थियो त्यो, मेरो हकमा पनि त्यही हो । तर, म असफल भएँ’, एमबाप्पेले विश्वकपका गोल्डेन बल विजेता मेस्सीबारे भनेका छन् ।

मेस्सी यतिवेला अर्जेन्टिनामै छन् र क्लबमा फर्किसकेका छैनन् । जनवरीको दोस्रो सातामात्र उनी पीएसजीमा सहभागी हुने बताइएको छ ।

December 29, 2022
काठमाडौँ - KTM, राजनीति
मार्टिनेजले ट्रोल बनाएकोमा एमबाप्पेको प्रतिक्रिया- सेलिब्रेसन मेरो समस्या होइन, अर्थहीन कुरामा शक्ति
By साझासवाल
3 मिनेट पढाइ