पुस २२, काठमाडौँ | नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटघाटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैरआवासीय नेपालीका मुद्दालगायत विषयमा छलफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । “प्रधानमन्त्रीसँग भेटका क्रममा पत्रकारको हकहितका लागि नेजाले उठाउँदै आएका विभिन्न विषयबारे जानकारी गराए”, उहाँले भन्नुभयो ।

यस्तै, नेजाका अध्यक्ष न्यौपानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसँग अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न आयामसँग नेजाले खेलेको भूमिका र गैरआवासीय नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न नेजाको सहभागिताबारे जानकारी गराउनुभएको थियो ।

“अमेरिकामा विभिन्न क्षेत्रमा आवद्ध पत्रकारले गरेका गतिविधिबारे उपप्रधानमन्त्रीलाई अवगत गराए”, नेजा अध्यक्ष न्यौपानेले भन्नुभयो । भेटघाटका अवसरमा उहाँले प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँ सुर्खेतमा आयोजना गरिएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभामा भाग लिन अमेरिकाबाट नेपाल आउनुभएको हो । अध्यक्ष न्यौपानेले महासङ्घसँग समन्वय गरी नेजाले आगामी दिनमा खेल्ने भूमिकाका सन्दर्भमा विभिन्न प्रदेशमा छलफलसमेत गरिसक्नुभएको छ ।

January 6, 2023
काठमाडौँ - KTM, राजनीति
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
By साझासवाल
3 मिनेट पढाइ