२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशबाट तीन दिनमै श्रम स्वीकृति, काठमाडौँ आउनुपर्ने बाध्यता भने हटेन

२०७९, २५ पुष सोमबार ०५:०२

पुस २५, काठमाडौं | आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृत लिन थालिएको छ । वैदेशिक रोजगार विभागले सातै प्रदेशबाट श्रम स्वीकृतिको काम थालेको हो । आजदेखि जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालिएको छ । सुर्खेत र धनगढीबाट भने एक साताभित्रमा सेवा दिन थालिने वैदेशिक रोजगार विभागले जनाएको छ । 

अब सम्बन्धित प्रदेशवासीले आफ्नै प्रदेशमा रहेका श्रम कार्यालयबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति लिने लगायतका सेवा पाउनेछन् । प्रदेश कार्यालयबाटै श्रम स्वीकृतिको काम थालिए पनि काठमाडौँ आउनुपर्ने बाध्यताको भने अन्त्य हुन सकेको छैन । 


श्रम स्वीकृति तथा नवीकरणको कारण प्रदेश कार्यालयबाटै हुनेछ । तर, भिसा लगाउने तथा स्वास्थ्य परीक्षणका लागि भने काठमाडौँ आउनुपर्ने हुन्छ । सम्बन्धित श्रम गन्तव्य मुलुकले भिसा सम्बन्धी कार्य काठमाडौँबाट मात्रै गर्दै आएका छन् । त्यस्तै स्वास्थ्य परीक्षणका लागि तोकिएका अधिकांश स्वास्थ्य संस्था पनि काठमाडौँ केन्द्रित मात्रै छन् । जसले गर्दा श्रम स्वीकृतिको काम प्रदेशबाटै भए पनि भिसा र स्वास्थ्य परीक्षणका लागि भने काठमाडौँ नै आउनुपर्ने भएको छ । 

कतिपय क्षेत्रमा भने प्रदेश स्तरमा समेत स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्था छन् । भिसा लगाउने काम पनि म्यानपावर व्यवसायी मार्फत हुन्छ । व्यक्तिगत श्रम स्वीकृति लिएकाहरूको हकमा भने भिसा लगाउन पनि काठमाडौँ आउनुपर्ने हुन्छ । 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गत रहेका श्रम कार्यालयहरूले अबदेखि वैदेशिक रोजगार विभाग अन्तर्गत गर्नुपर्ने कार्य पनि गर्नुपर्नेछ । यति मात्र नभएर उनीहरूलाई म्यानपावर संस्थामाथि नियमित अनुगमनको काम पनि दिइनेछ । त्यसका लागि वैदेशिक रोजगार विभागले केही दिनमा परिपत्र पठाउनेछ । 

आजदेखि प्रदेशमा स्थापना गरिएका शाखा कार्यालयहरू मध्ये जनकपुर र विराटनगरले सेवा दिन थालेका छन् । विराटनगरमा श्रम स्वीकृतिका लागि आज ५० जनालाई टोकन वितरण गरिएको छ । 

सुर्खेत र धनगढीबाट भने केही दिनपछिबाट मात्रै सेवा सुचारु हुनेछ । कर्मचारीहरूलाई अभिमुखीकरण तालिम दिन बाँकी रहेकाले आजबाटै सुर्खेत र धनगढीबाट सेवा प्रवाह गर्न नसकिएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । 

हालसम्म केन्द्रमा वैदेशिक रोजगार कार्यालय ताहाचलसहित पोखरा र बुटवलबाट श्रम स्वीकृतिको काम हुँदै आएको थियो । पोखरा र बुटवलबाट प्रदान गरिँदै आएको सेवा प्रभावकारी हुन सकेको थिएन । त्यस्तै श्रम कार्यालय सुर्खेत र धनगढीमा पुनः श्रम स्वीकृतिको मात्र काम हुँदै आएको थियो । अबदेखि भने सबै कार्यालयबाट समेत व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति, नवीकरण लगायतको काम हुनेछ ।   

प्रत्येक कार्यालयमा दैनिक १५० जनालाई श्रम स्वीकृति दिने गरी व्यवस्था मिलाइएको छ । यी सबै कार्यालयहरूबाट अनलाइन मार्फत श्रम स्वीकृति लिन सकिनेछ । श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिएको तीन दिनभित्रमा श्रम स्वीकृति दिइसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा प्रदेश कार्यालयहरूले समेत तीन दिनभित्रमा श्रम स्वीकृति दिनेछन् । 

हालसम्म श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गत रहेका श्रम कार्यालयहरूले उद्योगधन्दाको दर्ता, नवीकरण, श्रमिकहरूको तथ्याङ्क राख्ने लगायतका काम गर्दै आएका थिए । 

विभागका महानिर्देशक आचार्यले श्रम स्वीकृतिका लागि प्रदेशबाटै सहज भए पनि भिसा लगाउन र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ आउनुपर्ने बताए । भिसाको काम सम्बन्धित म्यानपावर कम्पनीमार्फत हुने भएकाले त्यसमा त्यति धेरै समस्या हुँदैन । तर, स्वास्थ्य परीक्षण गराउने अधिकांश संस्था काठमाडौँ केन्द्रित रहेकाले त्यसका लागि काठमाडौँ आउनुपर्ने बाध्यता हट्न नसकेको हो । 

‘हाम्रो तर्फबाट दिन सकिने सेवालाई जति सकिन्छ सहज बनाएका छौँ । तर, भिसा लगाउनको लागि सम्बन्धित देशको दूतावासबाटै हुने भएकाले त्यसका लागि काठमाडौँ नै आउनुपर्ने हुन्छ । दुई देशबीच सम्झौता गरेर दूतावासका सेवा प्रदेशतिर पनि सार्न भन्न सक्छौँ,’ महानिर्देशक आचार्यले भने । 

प्रदेश कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने म्यानपावर संस्थाको नियमित अनुगमन समेत गर्नुपर्नेछ । जसले गर्दा वैदेशिक रोजगार क्षेत्रमा देखिएको वेथितिको अन्त्य हुने अपेक्षा विभागले लिएको छ । प्रदेश कार्यालयहरूमा आवश्यकताको आधारमा स्रोत साधनको व्यवस्था मिलाइने उनको भनाई छ । 

‘श्रम कार्यालयलाई अहिले जे जस्तो स्रोत साधन छ त्यही आधारमा काम गर्न भनेका छौँ । काम गर्दै जाँदा जनशक्ति अभाव हुनसक्छ । आवश्यकताको आधारमा व्यवस्थापन गर्दै जान्छौँ ।’ महानिर्देशक आचार्यले भने ।  

वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायी संस्थालाई शाखा खोल्न अनुमति दिएको छ । यसअघि म्यानपावर व्यवसायीले शाखा खोल्न नपाउने कानुनी व्यवस्था थियो । तर, अहिले शाखा कार्यालय खोल्न दिइएको र सोही आधारमा धेरैले शाखा खोलिसकेको महानिर्देशक आचार्यको भनाई छ । शाखा खोल्न अनुमति दिएपछि हालसम्म ७० भन्दा बढी शाखा कार्यालयहरू खुलिसकेको उनको भनाई छ । 

प्रदेश कार्यालय खुलेपछि ताहाचलमा हुने भीड समेत कम हुने अपेक्षा विभागको छ । ‘हालको ताहाचलको भीड आधा कम हुन्छ भन्ने हाम्रो अपेक्षा छ । आधा जति प्रदेशतिर गयो भने सबैतिर सहज हुन्छ ।’ उनले भने । 

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई फाइदा

हाल मुलुकमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । हालैमात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । त्यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप कम हुने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली काठमाडौँ केन्द्रित भएर जाने गरेका छन् । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि वैदेशिक रोजगारीका लागि काठमाडौँ आउनुपर्ने बाध्यताले ती विमानस्थल सुनसान जस्तै बनेका थिए । अब प्रदेशबाटै श्रम स्वीकृतिको कार्य गर्न पाइने भएपछि भने ती विमानस्थलले सहज रूपमा यात्रु पाउने अपेक्षा गरिएको छ । 

यात्रुको अभावमा भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नै रोकिएका छन् । अब प्रदेशबाटै श्रम स्वीकृति दिन थालिएपछि धेरैलाई काठमाडौँ आउनुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै जानुपर्ने बाध्यता अन्त्य हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ