पुस २७, काठमाडौँ | मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बुधबार नै नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ ।

बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादव प्रदेशका पूर्वसभामुखसमेत हुन् ।

त्यस्तै प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् ।

मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।

यादव मधेस प्रदेशका दोस्रो मुख्यमन्त्री भएका हुन् । यसअघि उनकै दल जसपाबाट लालबाबु राउत मधेस प्रदेशका मुख्यमन्त्री थिए ।

January 11, 2023
काठमाडौँ - KTM, राजनीति
मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त
By साझासवाल
3 मिनेट पढाइ