पढ्न करिब 3 मिनेट लाग्छ

पुस २७, काठमाडौँ । विदेशबाट शङ्कास्पद रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह महाराजगन्ज स्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् । अछाम घर भएका ३५ वर्षीय शाहको स्वामित्वमा रहेको भनिएको विभिन्न कम्पनी र उनको व्यक्तिगत बैंक खातामा विदेशबाट ६५ करोड रुपैयाँ आएको भेटिएको छ । नेपालको बैंक खातामा शङ्कास्पद रूपमा भित्रिएको सो रकम मध्ये आधा भन्दा धेरै रकम उनले निकालेका छन् ।

पुस २२ मा ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा शाहसहित बिजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले र रंगबहादुर साउद छन् । पृथ्वी र उनको समूहले अमेरिकामा ठगी गरेर सो रकम नेपाल भित्र्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

अनलाइन मार्फत अमेरिकनको कम्यूटरमा पहुँच बनाएर रकम ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (एआईजी) उत्तमराज सुवेदीले बताए । सुवेदी भन्छन्–‘अमेरिकन नागरिकको कम्प्युटरमा पहुँच बनाएर उनीहरूको खातामा रकम जम्मा भएको फर्जी विवरण देखाएर शाहले सो रकम आफ्नो भएको दाबी गर्दै नेपाल पठाउन लगाएको देखिन्छ ।’

अनलाइन माध्यमबाट शाहले अमेरिकनको बैंक खातामा रकम जम्मा भएको देखाउँदै सो रकम ‘भुलवश’ जम्मा हुन गएको भन्दै फिर्ता पठाइदिन आग्रह गर्ने गरेको अमेरिकन नागरिकहरूले ब्युरोलाई बताएका छन् । खातामा रकम आएको देखेपछि अमेरिकनले शाहले भने अनुसार नेपालस्थित कम्पनीका बैंक खातामा डिपोजिट गरिदिएको थाहा भएको छ ।

शाहले ठगी गरेर अहिलेसम्म ४६ लाख डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी कुल ६५ करोड नेपालमा भित्र्याएका छन् ।

अमेरिकाबाट शङ्कास्पद रूपमा नेपालमा रकम आउन थालेपछि वित्तीय शुद्धीकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)ले नेपाल स्थित फाइनान्सियल इन्भेष्टिगेशन युनिट (एफआईयु) लाई पत्राचार गरेको थियो । ट्रान्जेक्सन ‘ठिक भए नभएको हेर्नु’ भनेर फिन्सेनले एफआईयुलाई पत्राचार गरेको अनुसन्धानका संलग्न एक जना अधिकृतले बताए ।

त्यसपछि एफआईयुले राष्ट्रबैंक लाई पत्राचार गरेको थियो । फाइनान्सियल इन्भेष्टिगेशन युनिटको पत्रको आधारमा राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धान गर्न आग्रह गर्दै सो रकम रोक्का राख्न पत्राचार गरेको थियो । राष्ट्र बैङ्कले रकम रोक्का गरेपछि शाह सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले उनको रकम फुकुवा गर्न अन्तरिम आदेश दिएको थिएन ।

३ अमेरिकले दिए जाहेरी

ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानबाट शाहले ४४ जना अमेरिकन नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । ३ जना पीडितले प्रहरीमा जाहेरी दिएको ब्युरोका एआईजी उत्तम सुवेदीले जानकारी दिए । ‘अमेरिकनले आफूहरू ठगिएको जाहेरी दिएका छन्’ एआईजी सुवेदी भन्छन्–‘नेपालको बैंकमा पनि फर्जी कागजात पेस गरेको भेटिएको छ, आरोपीहरू विरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिरहेका छौँ ।’

शाहले सिद्धार्थ सहित दुई वटा बैंकबाट रकम निकाल्न लागी फर्जी कागजात पेस गरेको अनुसन्धानबाट थाहा भएको छ । अमेरिकाबाट ठगीको रकम सिद्धार्थ बैंक, ग्लोबल,सेन्चुरी कमर्सियल, सनराइज, कुमारी, एनसीसी र एनएमबी सहित ११ बैंक वटा बैंक खातामा आएको छ ।

सो रकम शाहको स्वामित्वमा रहेका कम्पनीहरु हन्टिङ रिजर्व, १४ पिक, कैलाश एक्जिम, वर्ल्ड फस्ट जब प्लेसमेन्ट, माउन्टेन अपार्टमेन्ट र वर्ल्ड फस्ट होलिडे लगायतका खातामा जम्मा भएको छ । कतिपय कम्पनी कम्पनी रजिष्टारको कार्यालयमा दर्ता नै नभएको र दर्ता भएकाहरू पनि उद्देश्य अनुसार सञ्चालनमा नरहेको अनुसन्धानबाट थाहा भएको छ ।

पृथ्वी बहादुर यसअघि २०७२ मा पनि पक्राउ परेका थिए । प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र १ हजार दरका दुई करोड सहित सीआईबीले उनलाई पक्राउ गरेको थियो । त्यस बेला उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको एआईजी सुवेदीले जानकारी दिए ।