२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बागमती प्रदेशमा लम्पी स्किनबाट अठार हजार गाई सङ्क्रमित

२०८०, ३ जेष्ठ बुधबार ०७:१३

जेठ ३, काठमाडौँ | बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ ।

पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्क अनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गाईभैँसीमा देखा पर्न थालेपछि पशुचौपाया मर्न थालेका छन् ।

मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार सबैभन्दा बढी मकवानपुरमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा चार हजार आठ सय ३५ गाईमा उक्त रोग देखा परेको छ भने एक सय ९७ गाईको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 


सिन्धुलीमा नौ हजार छ सय ३४ सङ्क्रमण देखिएको छ भने ४७ गाईको मृत्यु भएको छ । त्यस्तै, रामेछापमा एक हजार नौ सय ६५, चितवनमा एक हजार ६० गाईमा उक्त रोगको सङ्क्रमण देखिएको सचिव पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रदेशको रसुवा र दोलखामा रोग पुष्टि नभएकाले सङ्क्रमित सङ्ख्या शून्य छ । धादिङको विवरण मन्त्रालयमा आइनसकेको उहाँको भनाइ थियो । 

हालसम्म गाईमा मात्र सङ्क्रमण भएको र भैँसीमा उक्त रोग सङ्क्रमण नभएको सचिव पाण्डेले बताउनुभयो । काठमाडौँमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा छ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रमण फैलिएको छ भने मनहरि गाउँपालिकासहित अन्य पालिकामा गाई सङ्क्रमित भएका पाइएको मन्त्रालयले जनाएको छ ।

रोगबाट पशुमा हुने मृत्युदर कम (करिब ५ प्रतिशत) भए पनि दुहुना पशुको दूध उत्पादनमा उल्लेख्य ह्रास (८० प्रतिशतसम्म) हुने भएकाले किसानलाई ठूलो आर्थिक क्षति पुगेको सचिव पाण्डेले बताउनुभयो । 

“रोग नियन्त्रण गर्न रोगको कारण, लक्षण, यसबाट किसानमा पुग्ने क्षति एवं नियन्त्रण र रोकथामका बारेमा किसान र सबै सरोकारवालासमक्ष जनचेतना फैलाउने काम गरिरहेको छ”, उहाँले भन्नुभयो । रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशीघ्र सुरु गर्न जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलाई निर्देशन दिई सकिएको सचिव पाण्डेले बताउनुभयो ।

हाल मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा एक हजार पाँच सय डोज खोप लगाउने कार्य सञ्चालन भइरहेको छ । रोग ग्रस्त क्षेत्रमा गई तत्काल निःसङ्क्रमण, उपचारलगायत नियन्त्रणका कार्य सञ्चालन गर्न तत्काल रोग नियन्त्रण समिति बनाइ कार्य अघि सारिएको सचिव पाण्डेले बताउनुभयो । मन्त्रालयले रोग नियन्त्रण तथा रोकथामलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘लम्पी स्किन डिजिज् नियन्त्रण र रोकथाम रणनीति, २०८०’ तयार गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा