साउन १०, काठमाडौं | ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गर्ने समूहका ७ जना धरौटीमा रिहा हुँदा ‘गुण्डा नाइके’का रुपमा चिनिने सानुभाइ भनिने युवराज गुरुङ भने अहिलेसम्म हिरासतमै छन्।

७ जनालाई जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेर उनीहरु रिहा भए पनि सानुभाइ भने पटके अभियुक्त भएका कारण उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। उक्त मुद्दाको आदेश आइनसकेकाले सानुभाइ अहिलेसम्म प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा छन्।

नुवाकोट सूर्यगढी गाँउपालिका–१ घर भएका राजेन्द्र गुरुङले ठमेलमा सञ्चालन गरेको क्लब ओम्नियामा असार १५ गते सानुभाइ ग्याङसहित छिरेर बाउन्सर, क्लब सञ्चालक राजेन्द्र तथा कर्मचारीलाई कुटपिट गरेका थिए। त्यसपछि फरार भएका सानुभाइलाई प्रहरीले पोखराबाट काठमाडौं आउँदै गर्दा असार २९ गते थानकोटबाट पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभद्र व्यवहारको कसुरको मुद्दामा बहस भइरहेको छ।

धरौटीमा रिहा गर्ने वा पुर्पक्षमा थुनामा पठाउने भन्ने आदेश भने आइसकेको छैन। पक्राउ परेका गुण्डा नाइके भनिने सानुभाइले आफूबाट गल्ती भएको भन्दै बयान दिएका छन्।

नसाको सुरमा हातपात गरेँ, गल्ती भयो : गुण्डा नाइके सानुभाइ

म (सानुभाइ) विगत ९/१० वर्षदेखि नुवाकोटमा बालुवासम्बन्धी ठेकापट्टाको काम गर्दै काठमाडौंमा बस्दै आइरहेको छु। जाहेरवाला राजेन्द्र गुरुङ मेरो गाउँका पुराना साथी हुन्। साथी भएको नाताले हाम्रो कारोबार, पार्टनरसिपमा काम गर्दै आइरहेका थियौं। कारोबार गर्ने क्रममा हिसाबको कारोबार नमिलेर हामीहरु आफ्न-आफ्नो बाटो लागि व्यवसाय सञ्चालन गर्दै आइरहेका थियौं।

घटनाको १०/१२ दिन पहिले म मेरा साथीहरुसँग रमाइलो गर्नका लागि राजेन्द्रले सञ्चालन गरेको ‘द ओम्निया’ क्लबमा गएको थिएँ। त्यतिबेला क्लबमा दुई पक्षको झै-झगडा भएको रहेछ। उक्त क्लबका सञ्चालकहरु, बाउन्सरहरु तथा क्लबका अन्य स्टाफहरुले मेरो नाम जोडी सानुभाइका मान्छेहरुले झै-झगडा गरे। प्रहरी आउँदा सानुभाइ सोफा पछाडि लुकेर बस्यो जस्ता आरोप लगाई हो-हल्ला मच्चाएका रहेछन्।

मैले सञ्चालक राजेन्द्र गुरुङलाई मेरा साथीहरु होइनन्, उक्त झै-झगडा गर्ने, झै-झगडा गर्नेहरुलाई प्रहरी टोलीले पक्राउ गरी लगिसकेको छ, मेरो नाम किन जोडेको भनी सोधपुछ, सम्झाई-बुझाई गरेको थिएँ। सोही क्रममा उक्त क्लबका १०/१२ जना बाउन्सरहरु मेरो वरिपरि आई तथानाम अपशब्दहरु बोलेपछि म मेरा साथीहरुसँग उक्त क्लबबाट निस्केर गएको थिएँ।

असार १५ गते मेरो जन्मदिन भएकाले साथीभाइहरुसँग रमाइलो गर्नको लागि ठमेलको ‘आई चखेवा’ रेष्टुरेन्टमा गयौं। मदिरा सेवन गर्यौं। त्यसपछि ओम्निया क्लबमा छिर्ने क्रममा रिसेप्सन अगाडि उभिइरहेका सञ्चालक र क्लबमा बाउन्सर सुरेश खड्काले म लगायत मेरा साथीहरुलाई अपशब्द बोली धकेले।

रिसको सुरमा हामीले राजेन्द्र गुरुङ, सुरेश खड्का र नितेश खड्का लगायतलाई हातपात, लछार-पछार, धकेला-धकेल गरी कुटपिट गरी उक्त क्लबबाट भागेका हौं। नसाको सुरमा जाहेरवाला समेतलाई हातपात, लछार-पछार गर्नु गल्ती भयो। कानुन बमोजिम सहन-भोग्न तयार छु।

ठमेलमा व्यवसायीमाथि मुक्का हान्ने ‘गुण्डा नाइके’ सानुभाइको बयान : नसाको सुरमा हातपात गरेँ, गल्ती भयो