साउन २०, जाजरकोट | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।

अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोफफोड भएको हो ।

हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रुपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।

विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए । यस्तो किसिमको गलत काम कुनै धर्म विरोधी तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रुपमा अघि बढ्नाका साथै स्वयं जगत् जननी मातासँग पनि भाकल गरिएको समेत उपाध्यायको भनाइ छ ।

यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेपछि विज्ञप्ति नै निकालिएको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजनहरु आउने गर्दछन् ।

डोल्पा प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी तोडफोड