Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 19, 2023 समाज

ज्याला मजदुरी गर्ने किसानको हत्या अभियोगमा २ जना पक्राउ

By साझासवाल

भदौ २, झापा | मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।

गत बुधबार साँझ हराएका सुन्दरको शव बिहीबार बिहान घर नजिकैको खोल्सीमा झारले छोपेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले परीक्षणका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान गरिएको थियो ।

अभियुक्तद्वयले रिसइवीका कारण सुन्दरको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए । प्रहरी हिरासतमा रहेका दुवै अभियुक्तलाई कर्तव्य ज्यानको अभियोगमा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट धारिलो फलामको सिकल र खन्ती प्रहरीले बरामद गरेको छ ।

घटना भएको दिन सुन्दर साँझपख नजिकैको विद्योदय आधारभूत विद्यालयमा फुटबल हेर्न भनी घरबाट निस्केका थिए । घर फर्किनुअघि अभियुक्तहरुले नियन्त्रणमा लिएर सुन्दरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।