फागुन २२, काठमाडौं | इजरायलमा लेबननस्थित चरमपन्थी समूह हिज्बुल्लाहले गरेको एक हमलामा परेर भारतीय नागरिक मारिएका छन्। यो घटनाको पुष्टि नयाँ दिल्लीस्थित भारतीय दूतावासले गरेको छ।

इजरायलले आफ्नो गाउँमा हिज्बुल्लाहले गरेको रकेट हमलामा भारतीय नागरिक मारिएकोमा दु:ख व्यक्त गरेको छ।

यस हमलामा अरु दुईजना भारतीय पनि घाइते भएका छन्। उनीहरू भारतको केरलबाट इजरायल पुगेको खुलेको छ।

उत्तरी इजरायलको मार्गालियोत गाउँमा लेबनानबाट गरिएको रकेट हमलापछि हताहती भएको हो। हिज्बुल्लाहले हानेको यो एन्टी ट्यांक मिसाइल एउटा बगैँचामा खसेको थियो। त्यही क्रममा बगैँचामा काम गरिरहेका भारतीय परेका थिए।

हमलामा कोल्लममा रहेका पेटनीबिन म्याक्सवेलको मृत्यु भयो। अर्कातिर बुश जोसफ जर्ज र पल मेलभिन घाइते भए। उनीहरूलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको छ।

भारतमा इजरायली दूतावासले ट्वीटरमा लेख्दै भनेको छ, 'उत्तरी मार्गालियोत गाउँमा एक बगैँचामा खेती गरिरहेका कृषि श्रमिकमाथि शिया आतंकवादी संगठन हिजबुल्लाहको तर्फबाट गरिएको कायरतापूर्ण हमलाका कारण एक भारतीय नागरिकको मृत्यु र दुईजना घाइते भएकोमा स्तब्ध र दु:खी छौँ। हामी मृतकका परिवारप्रति समवेदनासहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’

७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो। जसमा करिब १२ सय इजरायली नागरिक मारिएका थिए।

जवाफमा इजरायलले हमला थालेको थियो। त्यसका कारण अहिलेसम्म महिला र बालबालिकासहित ३० हजार बढी प्यालेस्टाइनबासीले ज्यान गुमाइसकेका छन्।

इजरायलमा हिज्बुल्लाहको हमला : एक भारतीयको मृत्यु, अन्य २ जना घाइते