चैत ६, सर्लाही | सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरा लाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट सादा पोशाकमा गएका संयुक्त टोलीले सोमबार राति पौने नौ बजेको समयमा अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत विहार राज्य सीतामढी जिल्ला सैयारा गाउँका लक्ष्मण सिंहको २८ वर्षीय छोरा सन्नीकुमार सिंह र विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला गंगापिपराका अशोक राउतको २४ वर्षीय छोरा जितेन्द्रकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताएका छन् ।

मगरटोलमा डेरा गरेर बस्ने भारतीय नागरिक जितेन्द्रको साथबाट मेड इन युएसए लेखिएको ९ एमएमको अटोमेटिक पेस्तोल एकथान, सोको म्याग्जिन एकथान, ६ राउण्ड गोली, फायर भएको खोका एकथान र भारतीय नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको डीएसपी प्रवक्ता थारूले बताएका छन् ।

दुवैजनालाई राति नै जिल्ला प्रहरी कार्यालय मलंगवा लैजाने क्रममा बसबरिया गाउँपालिका-६ पोखरियाबाट अन्दाजी ७ सय मिटर अगाडी बाटोमा गाडीबाट हामफालेर भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन चाइनिज पेस्तोल टाइप ५४ बाट ५ राउण्ड फायर गर्दा जितेन्द्रको बाँया घुँडा, दाहिने तिघ्रामा २ राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।

घाइते राउतको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारको लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सर्लाहीमा अमेरिकन पेस्तोलसहित २ जना पक्राउ