मङ्सिर ३, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा आज सुरु गरेको छ । यही मङ्सिर ५ गतेसम्म चल्ने उक्त पूजामा चैत्यको प्राणप्रतिष्ठा तथा बौद्ध परम्पराअनुसार पाठलगायत अन्य पूजा गरिनेछ ।

बौद्ध धर्मावलम्बीले ठूलो आस्थाका रुपमा मान्ने चैत्यको विभिन्न भागमा जीर्णोद्धारका क्रममा कुल्चिएका तथा जानी/नजानी विभिन्न दोषपूर्ण गरिएका कार्यबाट मुक्त हुनका लागि सो पूजा गरिन लागेको हो । गत वर्ष भूकम्पले क्षति भएको बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि यस किसिमको विशेष पूजा गर्न लागिएको हो ।

बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायमा निङ्मा, काग्यु, गेलुक र शाक्य चारवटा परम्परा छन् । ती परम्पराका धर्मगुरुले चैत्यको चारै दिशामा बसेर चैत्यको शुद्धीकरणका लागि विधिविधानपूर्वक पूजा तथा शान्तिका लागि परित्राण पाठ गर्नुभएको छ । करिब छसय लामा गुरुको सहभागिता रहेको उक्त कार्यक्रममा भक्तजन तथा धर्मावलम्बीको ठूलो सहभागिता देख्न पाइन्छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भूकम्पका कारण चैत्यको त्रयोदश भूवनका साथै अन्य विभिन्न भागमा क्षति पुगेकाले आवश्यकताअनुसार पुनःनिर्माण तथा जीर्णोद्धार विभिन्न भक्तजन दातृ सङ्घसंस्थाबाट सम्पन्न गरिएको जानकारी दिनुभयो । समितिले करिब रु २३ करोडको लागतमा चैत्यको जीर्णोद्धार कार्य सम्पन्न गरिएको जनाएको छ ।

श्रीलङ्का, म्यान्मा, लाओस, भियतनाम, थाइल्यान्डलगायत दातृ मुलुकका कूटनीतिक प्रतिनिधिको सहभागितामा यही मङ्सिर ७ गते सो चैत्यको उद्घाटन प्रधानमन्त्रीबाट गरिने बताइएको छ । पाँचौ शताब्दीमा निर्माण भएको सो चैत्य अहिले विश्व सम्पदा सूचीमा सूचीकृत छ । रासस

November 18, 2016
काठमाडौँ - KTM, समाज
बौद्धनाथ चैत्यमा शुद्धीकरण पूजा
By kit
4 मिनेट पढाइ