बैशाख १३, काठमाडौँ । ‘समाचारका लागि पत्रकारिता, सत्यतथ्यका लागि फोटो पत्रकारिता’ नाराका साथ आज राष्ट्रिय फोटो पत्रकार समूहले प्रभात फेरिको आयोजना गरेको छ ।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि भद्रकाली, सहिदगेट, न्युरोड, वीर अस्पताल, रत्नपार्क हुँदै सोहीस्थानमा समापन गरिएको थियो ।

प्रभातफेरि पश्चात भएको सभामा समूहका अध्यक्ष ध्रुव आलेले फोटो पत्रकारको हकहितमा सदैव समर्पित रहने बताउँदै हरेक सञ्चार गृहबाट फोटो पत्रकारलाई आवश्यक क्यामेरा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

उहाँले सञ्चार गृहले फोटो पत्रकारलाई दिइने पारिश्रमिकमा भेद्भाव गर्ने गरेको, राज्यले फोटो पत्रकारलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने, क्यामेराको बिमा हुनुपर्नेलगायतको माग गर्नुभयो ।

समूहका पूर्वअध्यक्ष कविन्द्रमान शाक्यले सत्यतथ्य समाचार सम्प्रेषणका लागि पत्रपत्रिकामा फोटो अभिन्न अङ्गको रुपमा रहेकाले यसको महत्व अझ बढिरहेको बताउनुभयो ।

विसं १९८४ वैशाख १३ गते वीरगन्ज निवासी सूर्यमाया श्रेस्थानीले काम धनु चर्खाबाट कपासबाट धागो काट्दै गरेको फोटो पहिलो पटक गोर्खापत्र साप्ताहिकमा प्रकाशित भएको वर्षदेखि हरेक वर्ष फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

कार्यक्रममा पूर्वअध्यक्ष राजभाइ सुवाल, सचिव प्रदीपराज वन्त, पर्सा शाखाका अध्यक्ष पङ्कज श्रेष्ठ, कास्की शाखाका अध्यक्ष ओम लामा, बाग्लुङ शाखाका किरण आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

सत्यतथ्यका लागि फोटो पत्रकारिता