बैशाख १५, काठमाडौँ । तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ ? याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवना गर्नेभएको छ ।

महाशाखाले आज यहाँ आयोजना गरेको ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रु मरेको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जेब्राक्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउँछ ।”

प्रनाम भण्डारीले सडकमा छाडा गाईबस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौँलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिनुका साथै हाल रातिको समयमा सडक पखाल्ने काम गरिरहेको छ ।”

महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश मोटरसाइकल र स्कुटरबाट हुने भएकाले यसको न्यूनीकरणका लागि यो अभियान चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जथाभावी बाटो हिँड्ने वा काट्ने तथा जेब्रा क्रसिङबाट बाटो काट्दा सवारी नरोक्ने सवारी चालक दुबैलाई कारबाही गछौँ ।”

उहाँले सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत आजैदेखि जनचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष अजय राईलगायतले नियम सञ्चालनसँगै कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

April 28, 2017
काठमाडौँ - KTM, समाज
होसियार ! तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ ?
By kit
5 मिनेट पढाइ