Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रेमिकाले अर्कैसँग बिहे गरेपछि, नग्न तस्विर पठाउने युवकविरुद्ध साइबर अपराधको मुद्दा

By साझासवाल 4 मिनेट पढाइ

काठमाडौँ । करिब चार वर्षअघिको चिनजानबाट सुरु भएको प्रेम सम्बन्ध अन्ततः एक युवालाई कानुनी कारबाहीमा तानिएको छ। सामाजिक सञ्जालमार्फत विकसित भएको सम्बन्धमा एक युवतीसँगको व्यक्तिगत तस्बिर र भिडिओ सार्वजनिक गर्ने धम्की दिएका टोखा नगरपालिका–१ झोरका २९ वर्षीय प्रकाश(नाम परिवर्तन) अधिकारीविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दायर गरिएको हो।

प्रकाश र उषा पौडेल (नाम परिवर्तन) बीचको सम्बन्ध समयसँगै घनिष्ठ हुँदै गएको थियो। भिडियो कलमार्फत संवाद हुँदै गर्दा उनीहरूबीच व्यक्तिगत सामग्री आदानप्रदान पनि भएको थियो। प्रकाशले ती तस्बिर तथा भिडिओहरू आफ्नो मोबाइलमा सुरक्षित राखेका थिए। तर, समयक्रममा युवतीले अर्कै व्यक्तिसँग विवाह गर्ने निर्णय लिँदा सम्बन्धमा दरार आयो।

प्रकाशको दाबीअनुसार युवतीले स्टार्टिंगमा सम्बन्धलाई निरन्तरता दिने भनिए पनि २०८२ साल वैशाख २३ गते अर्कैसँग विवाह गरेपछि आफू ठगिएको महसुस गरेका थिए। सोही भावनात्मक आवेगमा उनले युवतीलाई व्यक्तिगत सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

विवाह भएको केही दिनमै उनले ती तस्बिर र भिडिओहरू युवतीका भिनाजुलाई सामाजिक सञ्जालमार्फत पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ। पीडित पक्षले त्यसपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

१ जेठ २०८२ मा प्रहरीको साइबर ब्युरोले प्रकाशलाई नियन्त्रणमा लिएको थियो। मोबाइल जाँचका क्रममा प्रकाशको फेसबुक खाता खुल्ला अवस्थामा भेटिएको र त्यसमार्फत अश्लील सामग्रीहरू प्रसारण गरिएको पुष्टि भएको हो।

प्राप्त प्रमाण र प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग पत्र दायर गरेको छ।

अभियोग पत्रमा उल्लेख भएअनुसार, प्रकाशले पीडितलाई मानसिक पीडा, सामाजिक बेइज्जती तथा चरित्र हत्या गर्ने खालको कार्य गरेकाले ऐन बमोजिम पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ। साथै, प्रयोग गरिएको मोबाइल जफत गर्न र पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप रकम भराउने मागसमेत राखिएको छ।