साउन १८, काठमाडौँ | आमा र शिशु स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएको अति संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न स्वयं स्वास्थ्यकर्मीले माग गरेका छन् । संघीय संरचनाअनुसार हालै स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ कर्मचारी संरचनामा खोप कार्यक्रमसित सम्बन्धित दरबन्दी कटौती गरेको थियो ।

बाल स्वास्थ्य र आपूर्ति महाशाखाअन्तर्गतका खोप सुपर अधिकृत, खोप सुपरभाइजर, कोल्डचेन अधिकृत, मेकानिकल इञ्जिनियरलगायत चार जना दरबन्दी रहने व्यवस्था रहिआएको थियो । मन्त्रालयले ती पद कटौती गरेपछि स्वास्थ्यकर्मीले त्यसो नगर्न माग गरेका हुन् ।

खोप सुपरभाइजर अधिकृत ओम उपाध्यायले आमा र शिशुको स्वास्थ्यसित जोडिएका दरबन्दी कटौती गर्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गर्नुभयो । विसं २०३५ को दरबन्दीलाई विसं २०४८ मा पुनरावलोकन गरी वृद्धि गरिएको थियो ।

नेपालमा विसं २०२४ मा पहिलो पटक विफर उन्मूलन कार्यक्रम लागू भएको थियो । यसको १० वर्षपछि विसं २०३४ मा विफर उन्मूलन भएपछि विसं २०३५ मा विस्तारित खोप कार्यक्रम अगाडि बढेको थियो । तीन वटा खोपबाट शुरु भएको खोप कार्यक्रम हालसम्म आइपुग्दा ११ प्रकारका खोप बालबालिकालाई लगाइन्छ ।

स्वास्थ्यकर्मीको एक प्रतिनिधिले उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी खोपसित सम्बन्धित दरबन्दी कटौती नगर्न माग गरेको खोप सुपरभाइजर अधिकृत उपाध्यायले जानकारी गराउनुभयो ।

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन र युनिसेफको मापदण्डअनुसार खोप भण्डारण तथा व्यवस्थापन गर्ने गर्दछ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन खोप ऐन तथा नियमावली कार्यान्वयनमा रहेको छ । रासस

August 3, 2018
काठमाडौँ - KTM, समाज
खोप दरबन्दी कटौती नगर्न माग
By kit
4 मिनेट पढाइ