मङ्सिर २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गर्नुभएको छ । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आज सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहो¥याउनु भएको हो ।

उहाँले भन्नुभयो, “भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन हुन्छ, गर्न दिन्न भन्नेमा मेरो प्रयास जारी छ ।” उहाँले कुनै पनि राज्यका जिम्मेवार पदाधिकारी र कर्मचारीलाई आफू मातहतका व्यक्तिसँग नगिर्ने गरी काम गर्न आग्रह गर्दै भन्नुभयो, “मैले भ्रष्टाचार गर्न मन्त्रीहरु र मुख्यमन्त्रीसँग गिर्नुपर्छ, त्यस्तो म गर्दिन र अरुले पनि नगर्नुहोला । तलकाको नजरमा नगिर्नुस्, माथिकालाई खुशी पार्नु पर्ने छैन । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र असहिष्णु नीति रहनेछ ।”

उहाँले ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक प्रतिवेदनमा भ्रष्टाचारको सूचकाङ्कलाई आगामी दिनमा सकारात्मक र व्यापक फेरबदल ल्याउने गरी काम गरिने विश्वास व्यक्त गर्दै नागरिक समाज र सञ्चार क्षेत्रले पनि त्यसमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सो संस्थाको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वका १८० मुलुकमध्ये १२२ औँ स्थानमा छ । भ्रष्टाचार हुनुमा ७७ प्रतिशत राजनीतिक र ६६ प्रतिशत प्रशासनिक क्षेत्रलाई दोषी देखाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्यसचिव दामोदर गौतम, अभियन्ता केदार खड्कासहितले समाजका तर्फबाट प्रधानमन्त्री ओलीलाई आफ्ना सङ्कल्प व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो । उहाँहरुले आयोगलाई सशक्त र प्रभावकारी बनाउन, मन्त्रालयबाट हुने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट नगर्न सुझाव दिनुभएको छ । रासस

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह