Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राप्ती नदीमा एक सय गोही छाडियो

By साझासवाल 7 मिनेट पढाइ

नारायण अधिकारी, वैशाख ४, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।

विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उहाँले बताउनुभयो । प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन् ।

खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन् । सोही प्रजनन केन्द्रमा हुर्काएर हालसम्म विभिन्न नदीमा एक हजार ४६५ गोहीलाई छाडिएको छ । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ । नदीमा गोही छाड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।

नेपालका नदीहरूमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदीहरू प्रदुषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।

सहकारीहरूको साझा पेट्रोलपम्प बन्यो

जिल्लाका २९६ सहकारीको लगानीमा भरतपुरको बाइपासरोडमा साझा पेट्रोलपम्पको निर्माणकार्य सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको जिल्ला सहकारी सङ्घको जग्गामा पेट्रोलपम्प निर्माण गरिएको हो । सङ्घले पम्प निर्माणको संयोजन गरेको छ ।

सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार यही वैशाख ८ गतेबाट पम्प सञ्चालनमा आउने छ । पम्प निर्माणका लागि हालसम्म रु तीन करोड लगानी भइसकेको उहाँले बताउनुभयो । सञ्चालनमा आउँदै गर्दा दुई ट्याङ्कर र तेल खरीद गर्दा लागत मूल्य करीब रु पाँच करोड पुग्ने उहाँले बताउनुभयो ।

पेट्रोलपम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार एउटा सहकारीको रु २५ हजारदेखि पाँच लाखसम्म शेयर रहेको छ । अत्याधुनिक प्रविधिबाट पम्प निर्माण गरेको बताउँदै उहाँले पेट्रोल र डिजेल गरी एक लाख चार हजार लिटर क्षमता रहेको बताउनुभयो ।

एक बिघा क्षेत्रफलमा फैलिएको पम्पमा अपाङ्गमैत्री शौचालय, भान्छाघर, ग्रोसरी, ज्याकवास, हावा भर्ने ठाउँलगायत सबै सुविधा रहेको छ । सोही क्षेत्रमा २२ सटरसमेत निर्माण गरी यात्रुलाई सेवा दिन लागेको अधिकारीले बताउनुभयो । एक वर्षअघि निर्माण थालिएकामा हालै मात्र आयल निगमद्वारा सञ्चालन अनुमति दिएपछि पम्प आउँदो साताबाट सञ्चालन गर्न लागिएको हो । निजी क्षेत्रका पेट्रोलपम्पको संस्थामा सदस्य नबन्ने र सकेसम्म सस्तो मूल्यमा इन्धन बिक्री गर्ने तयारी सङ्घले गरेको छ । चौबीसैँ घण्टा पम्प सञ्चालन गरिने जनाइएको छ । रासस