जेठ ३२, काठमाडौँ | अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । हिजो शुक्रबार काठमाडौँको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो । काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

उहाँका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीन/चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ डिग्री सेल्सियस रहेको छ । यसैबीच आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा वर्षाको सम्भावना औँल्याएको हो । रासस

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०२/३२ देखि २०७६/०३/०२ ) सांझ ६:०० बजे

असार १ गते (आइतबार)

दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार २ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

June 15, 2019
काठमाडौँ - KTM, समाज
काठमाडौँमा यो वर्षकै उच्च तापक्रम महसुस, भोली र पर्सिको मौषम कस्तो ?
By साझासवाल
5 मिनेट पढाइ