फागुन २८, काठमाडौँ | निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घर नजिकै बम विष्फोट भएको छ । भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै पर्खालमा बुधबार बिहान विष्फोट हुँदा वास्कोटाको घरको गेटमा क्षेती पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान ७:४५ बजेको समयमा बम विष्फोट भएको हो । बम विष्फोट भएपछि घरमा झ्यालको सिसा समेत फुटेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेकाले ठिमी प्रहरीले जनाएको छ । उक्त घटना कसले गराएको भन्नेबारे प्रहरीले कुनै खुलाशा गरेको छैन ।
तर घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ । आजकै दिन अर्थात गत २०७५ फागुन २८ गते चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएको थियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।