Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो

By साझासवाल 4 मिनेट पढाइ

जेठ ३, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो

उनको विद्युतीय शवदाहमार्फत शव जलाइएको छ । उनको शव लिएर धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका एक सदस्य आर्यघाट पुगेका थिए ।

कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । सनिबार राति सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि गरेको छ ।

कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापनसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने हुन्छ । हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउनुपर्ने भनिएको छ । साथै, संक्रमितको शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने हुन्छ ।

कोरोना पुष्टि भएको मानिसको मृत्यु भएमा मृतकको शव जथाभावी सदगत गर्न पाइदैन । शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने हुन्छ ।

शवको नजिक ६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई जान दिनु हुँदैन । सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न भने सकिन्छ । साथै आफन्तले शव हेर्न चाहेको अवस्थामा नछोइकन एक मिटरभन्दा टाढाको दुरीबाट हेर्न दिइन्छ ।