Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पीसीआर परीक्षण गर्न २० वटा निजी प्रयोगशाला इच्छुक

By साझासवाल

जेठ ३०, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को पीसीआर विधिबाट परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार ९ वटा प्रयोगशालाले अहिले नै आफूहरुसँग पीसीआर मेसिन रहेको भनी आशयपत्र दिएका छन् ।

तीमध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणका लागि आवश्यक किटसमेत रहेकाले अहिले नै परीक्षण गर्न सक्ने जनाएका छन् भने अन्य ६ वटा प्रयोगशालाले परीक्षण गर्न पाउने भए आफूले किट खरिद गर्ने प्रस्तावमा पेश गरेका छन् ।

अन्य ११ वटाले अहिले नै मेसिन नभएको तर अनुमति पाए एक महिनाभित्र मेसिन ल्याउने बताएका छन् । उनीहरुले एक महिनाभित्र पीसीआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण शुरु गर्ने प्रस्ताव पेश गरेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड–१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई आफूसँग भएको क्षमता खुलाई प्रस्ताव आह्वान गरेको थियो । बिहीबार जेठ २९ गतेभित्र प्रस्ताव आह्वानअनुसार निजी प्रयोगशालाले प्रस्ताव पेश गरेका थिए ।

‘हामीले प्रस्ताव गरेअनुसारको प्रयोगशालाले कोभिड–१९ परीक्षणका लागि इच्छा देखाएका छन्’ निर्देशक डा झाले भनिन्, ‘हामीले प्रस्ताव हेरेर ती प्रयोगशालालाई चाँडै नै परीक्षणको अनुमति दिन्छौँ ।’

प्रस्ताव पेश गरेका प्रयोगशालालाई अनुमति दिएपछि कोभिड–१९ को परीक्षण गराउन चाहने सर्वसाधारणले आफैं शुल्क तिरेर परीक्षण गराउन सक्ने छन् । अहिले सरकार मातहतका प्रयोगशालाले मात्र निःशुल्क परीक्षण गरिरहेका छन् । कोभिड–१९ को परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड–१९ को पिसिआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो ।

प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले यही जेठ २० गते कोभिड–१९ को परीक्षणको क्षमता बढाउन निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने सन्दर्भमा थप छलफल गरी यथाशीघ्र मोलाडिटी तयार गर्ने भनेर निर्देशन दिएको थियो । अहिले मुलुकभरि २१ वटा प्रयोगशालाबाट पीसीआर  प्रविधिबाट परीक्षण हुँदै आएको छ ।

प्रयोगशालाकी निर्देशक डा. झाले मन्त्रालयले मापदण्ड बनाएपछि निजी प्रयोगशालालाई परीक्षण गर्ने अनुमति दिने बताइन् । अहिलेसम्म नेपालमा एक लाख १५ हजार ९३७ पीसीआर परीक्षण भएको छ । देशभरका २१ प्रयोगशालामा बिहीबार पाँच हजार १९३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

उपत्यकामा जनस्वास्थ्य प्रयोगशालासहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षण भइरहेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पीसीआर परीक्षणका लागि निजीलाई पनि दिइने सैद्धान्तिक निर्णय गरे तापनि के कसरी, कति शुल्कमा गर्ने भन्नेबारे मापदण्ड बनाइरहेको बताए ।रासस