साउन ११, काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो ।

यससँगै शनिबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या १६१ पुगेको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । समितिका अनुसार ३६ मुलुकमा रहेका कूल ३१ हजार १५० सङ्क्रमित नेपालीमध्ये २९ हजार २४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस साता त्यहाँ सङ्क्रमणदर केही बढेको सङ्घले जनाएको छ । यसैगरी संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता सङ्क्रमण बढेको छ ।

समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।रासस

July 26, 2020
काठमाडौँ - KTM, समाज
कोरोना सङ्क्रमणबाट विदेशमा थप एक नेपालीको निधन
By साझासवाल
3 मिनेट पढाइ