Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

खिर खाएर मनाइयो साउन १५

By साझासवाल

साउन १५, काठमाडौँ | नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खिर खाएर मनाइएको छ ।

वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन शुरु भएको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन वा प्रमाण भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् बनाउँछन् ।

यस वर्ष साउन १५ गतेका दिन आज श्रावण शुक्ल एकादशी परेकाले चामलको खिर नखानेले सावधनाको खिर बनाएर खाएका छन् । आजको एकादशीलाई पुत्रदा एकादशीका रुपमा मनाइन्छ । एकादशी व्रत गर्नेले चामलबाट बनेका परिकार खाँदैनन् । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका आठ एकादशीमा धेरैले चामल नखाने गरेका छन् । सक्नेले भने वर्षभरका २४ वटै एकादशीमा चामल नखाई व्रत गर्छन् ।

सावधानालाई फलफूलकै वर्गमा राखिने भएकाले एकादशीको व्रत गर्नेले पनि खान हुन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

खिर खाने पर्वका रुपमा साउन १५ मनाइने भएकाले आज बजारमा दूधको बिक्री पनि धेरै भएको व्यवसायीले जनाएका छन् । धेरै स्थानमा दिउँसै दूध सकिएको चाबहिलमा इन्द्रावती डेरी सञ्चालन गर्दै आउनुभएका सरस्वती आचार्यले बताउनुभयो । रासस