साउन २२, सानफ्रान्सिस्को (रासस–एएफपी) । सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको सन्देश प्रवाहित गर्नु भएको थियो ।

फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “ कोभिडसम्बन्धी अहितकर झुठो सूचना” को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ ।

विश्वकै अग्रणी सामाजिक संजाल फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गर्नुभएको सामग्रीलाई आपत्तिजनक र गलत ठह¥याउँदै फेसबुक पेजबाट हटाएको यो पहिलो पटक हो ।

हुनत यसअघि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको पेजमा प्रयोग भएको नाजी प्रतीक चिह्नलाई पनि फेसबुकले हटाएको थियो ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको यो भिडियो अंशमा राष्ट्रपति ट्रम्पले कोभिड–१९ बाट एउटा समूह सुरक्षित रहेको भन्दै गलत दाबी गरिएको फेसबुकका प्रवक्ताले बताउनुभएको छ ।

उहाँले कोभिडसम्बन्धी फेसबुकको नीति विपरीत राष्ट्रपति ट्रम्पको दाबी फेसबुकमा पोस्ट भएको जानकारी दिनुभयो ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा आफ्नो भनाईको बचाउ गर्नु भएको थियो । उहाँले भन्नुभयो, “बालबच्चाहरुले कोभिडलाई सहजै परास्त गर्न सक्छन् भन्ने मेरो धारणा हो । उनीहरुमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ ।”

स्वास्थ्य अधिकारीहरुले कोभिडको असर जुनसुकै उमेर समूहका व्यक्तिमा हुने जनाउँदै सतर्कता अपनाउन निरन्तर आग्रह गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले गत साता पनि कोभिड सम्बन्धी गलत सूचना प्रवाह गर्नु भएको थियो ।

राष्ट्रपति ट्रम्पको सामग्री फेसबुकले हटायो