पढ्न करिब 2 मिनेट लाग्छ

वैशाख ४, डोटी (रासस) । भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएको र यहाँका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले कोरोना रोकथामका लागि खासै उल्लेख्य कदम चाल्न नसकेको भन्दै स्थानीयवासीमा त्रास उत्पन्न हुन थालेको दिपायल सिलगढी नगरपालिका–४ का वीरबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट काम गरी फर्किने नागरिकमा कोरोना देखिँदै छ, रोकथामका लागि खासै पहल भएको छैन, त्रास नभए के हुनु ।”

जिल्लाका स्थानीय तहले भारतबाट घर फर्किएका नागरिकलाई राख्नका लागि क्वारेन्टिनसमेत निर्माण नगरेकाले उनीहरु सिधै आ–आफ्ना घर जान थालेको बताइएको छ ।

नागरिक सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा कोरोना सङ्क्रमण बढ्दै जाने तथा पछि गएर कोरोनाले महामारीको रुप लिन सक्नेभन्दा यहाँका गाउँघरमा रहेका नागरिकमा त्रास उत्पन्न हुन थालेको हो ।

यहाँको स्थानीय प्रशासनले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य १५ दिन क्वारेन्टिन राख्नुपर्ने निर्णय गरेको भए पनि उक्त निर्णयको पालना नहुँदा झनै समस्या भएको बताइएको छ ।