बैशाख १६, काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा सुरु हुँदै छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ७२ ठाउँमा नियमित चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेड’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको छ । ब्यारिकेट सडकमा बार लगाएर सवारी आवागमन नियमनका लागि गरिएको चेकिङ पद्धति हो ।

ब्यारिकेड भएको स्थानबाट सहजै सवारीसाधन भाग्ने सम्भावना हुँदैन । अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको पहिलो दिनका गतिविधि र आदेश पालनाबारे विश्लेषण गरी थप रणनीति बनाइने बताए । ‘कोरोना महामारीविरुद्ध लिइएको निषेधाज्ञासम्बन्धी मन्त्रिपरिषद्का निर्णय र उपत्यकास्थित तीनवटै जिल्ला प्रशासनका आदेश कार्यान्वयनका लागि अत्यावश्यकबाहेकका बजार, आवागमन, यातायात र मानिस ओहोरदोहोरमा यो स्वाभाविक किसिमको बन्देज हो,’ प्रवक्ता दाहालले भने, ‘पहिलो दिन कुन रूपमा आदेश पालना वा उल्लंघन हुन्छ, त्यसकै आधारमा आगामी रणनीति बन्छ ।’

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले उपत्यकामा निषेधाज्ञालाई सफल पार्न करिब २ हजार जनशक्ति फिल्डमा खटिएको बताए । फिल्डमा खटिएका र ब्यारेकमा रिजर्भ रहेका फौजलाई एकअर्कामा संक्रमण जोखिम हुन नदिन छुट्टाछुट्टै मेस र बासस्थानको व्यवस्था मिलाइएको उनले जानकारी दिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

निषेधाज्ञा नटेरे सडकमै सजाय