असार २५, काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ ।

उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ ।

सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० राति ११ बजेर २५ मिनेटमा ‘भेरोसेल’ खोप लिएर फर्कने कार्यतालिका छ ।

कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर सम्झौता गरेको हो । सोही सम्झौताअनुसार पहिलो चरणमा १० लाख डोज खोप आउँदै छ ।

दोस्रो खेप खोप लिन नेपाल एयरलाइन्सकै विमान शुक्रबार अर्थात् ९ जुलाईमा बेइजिङ जाने कार्यतालिका रहेको छ ।

त्यसैगरी १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप, २२ जुलाईमा पाँचौं र २३ जुलाईमा छैटौं खेप ल्याइँदै छ । यो खोप ६० वर्षमुनिका उमेर समूहका नागरिकलाई प्राथमिकताको आधारमा लगाइने मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

July 9, 2021
काठमाडौँ - KTM, समाज
चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै
By साझासवाल
3 मिनेट पढाइ