Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालमा एक तिहाई बढीले लगाए कोभिड–१९ विरुद्धको पूर्ण खोप

By साझासवाल 4 मिनेट पढाइ

कात्तिक १, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज मसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा त्यो लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको बताए ।

मन्त्रालयका अनुसार लक्षित वर्गमध्ये ४२ दशमलव २ प्रतिशतलाई पहिलो मात्रा र ३३ दशमलव ५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो ।

मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको छ ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार सात सय १० मात्रा खोप नेपाल आइसकेको छ ।

अब दुई करोड ४१ लाख ५८ हजार सात सय ८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने उनले बताए । बालबालिकालाई लगाउने फाइजर एक लाख ६ सय २० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ ।