चैत १, काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु २९ लाख गुमाउनुपरेको हो ।

उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए ।

पीडितले भने रु ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट रु २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको खुल्न आएको मानगरीय अपराध महाशाखाले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

March 15, 2022
काठमाडौँ - KTM, समाज
सामाजिक सञ्जालको माध्यामबाट ९० लाखको चिठ्ठा परेको भन्दै ठगियो २९ लाख
By साझासवाल
3 मिनेट पढाइ